विश्वासहरुबाट विश्वास नै उधारो लिएर फेरि विश्वास नै लगानी गरेर प्रतिफलमा विश्वास नै प्राप्त गर्नु छ ।

 विश्वासहरुबाट विश्वास नै उधारो लिएर फेरि विश्वास नै लगानी गरेर      प्रतिफलमा विश्वास नै प्राप्त गर्नु छ ।




समय गतिशील छ । समयको उर्लँदो छाल संग जीवनका अवयवहरु स्थिर हुने कुरै आएनन् । हिजो सहज,अनुकूल र सही लागेका प्राय चीजहरू अन्तराल संगसंगै त्यसमा फिकापन आउनु स्वाभाविक नै छ । एउटा मान्छेको ब्यक्तिगत जीवन बढो बहु-आयामिक हुने रहेछ। यसमा मान्छेको उमेर, आवश्यकता र कतिपय बुझाई भोगाइले पनि ठूलो फरक पार्ने भई नै गयो । भने जस्तो सहज र सजिलो केही पनि छैन र उपलब्धि त्यति सजिलो हुने भएन नै । आफूले देखेको सत्य र आफ्ना पैतालाका डोबहरू सधैं सही कोणमा नहुने रहेछन् । मात्रात्मक कमी कमजोरी विनाको मान्छे हुन खोज्नु वा फेला पार्नु पनि एउटा भ्रम रहेछ । यस्ता क्षण वा परिवेश र सम्बन्ध त्यति नियमित पनि हुने रहेनछ । यो यात्रामा आउने उकाली ओरलीहरुले दिने उपजले पनि सम्बन्धहरु गाढा वा फिका भए वा हुने क्रममा छन् । तर एउटा गतिशील जीवन हार नमानीकन अगाडीको भविष्य नहेरिकन बस्न नसक्ने रहेछ । कति विश्वास आर्जन गरियो ? कति सम्बन्धहरूको गहिराइमा पुग्न सकियो ? कति अरूको मन राख्दा राख्दै आफैलाई खुम्च्याईयो ? यसबाट कति पाठ सिकियो ? कति व्यावहारिक भइयो ? अथवा भोगिरहेको वर्तमानले के साँच्चै आफैँलाई न्याय गरिरहेको छ ? यी नै अनुत्तरित प्रश्नहरूमा आफैलाई देख्ने र खोज्ने प्रयास कहिले सम्म जारी रहन्छ ? जीवन मूल्यहरु खोज्ने र बाँच्ने कोसिस के गर्दा सार्थक बन्छ ? इच्छा र आकांक्षाहरुको बलीमा के आफैलाई यतै कतै भेटिन्छ ? हो म यही खोजीरहेछु, पछ्याई रहेछु । 


संयोजनमा सवैको जीतको हिस्सेदार बन्न सबैलाई रहर हुन्छ नै । लुकेका ईष्र्या, लोभ र निजत्व बाहेक समष्टिमा मान्छे परिपूरक छ । अपेक्षा र अवसर भन्दा बाहिर सम्बन्धहरु छैनन् । हरेक बेला क्रियाको प्रतिक्रिया हुने हो तर दिशा एउटै हुन्छ वा फरक त्यो पहिल्याउन कठिन छ । एउटा संभावना देख्नु, त्यसमा लाग्नु र फेरि अर्को सम्भावना देख्नु ,फेरि लाग्ने कोसिस र साहस देखाउनु नै जीवन रहेछ । तर यो यात्रा निश्कलंक हुनु पर्यो । कमाईएको सम्बन्धलाई दुरुपयोग गर्नु छैन । कसैलाई खोलो तारेर नै आफ्नो गन्तब्य पुगियोस् भन्ने हो । मनमा फरक दृष्टिकोण राखेर व्यवहारमा भ्रमहरु देखाउनुले तात्विक छवि नदेला नै । कति अरूको सहायक वा हित चिताएर आफ्नो उन्नयनमा अग्रसर हुन सकिन्छ यही नै यो साघुँरो जीवनको फराकिलो यात्रा हो । उज्यालो मात्र हेरेर अँध्यारो नजर अन्दाज गर्ने वा लामो अँध्यारो बाट उज्यालोको निमित्त भौतारिने नियती बाट आफूलाई फरक गर्ने एउटा कठोर निर्णय बाट आफूलाई श्रेष्ठ बनाउनु नै छ । विश्वासहरुबाट विश्वास नै उधारो लिएर फेरि विश्वास नै लगानी गरेर प्रतिफलमा विश्वास नै प्राप्त गर्नु छ । बुझ्नलाई सरल सजिलो बन्नु छ । आँखा चिम्म यदि कसैले गर्छ भने साक्षीको रुपमा आफुलाई उभ्याउनु छ । सीमित सम्बन्ध हरुबाट अंशको रूपमा एउटा भरोसा आफ्नो नाममा ल्याउनु छ । आफैलाई जित्नु छ, आफै संग प्रतिस्पर्धा गर्नु छ । कसैलाई आवश्यकता वा आशाको केन्द्र बनाउनु छैन । प्राप्ती वा विछोड सधैं शुखद वा सधैं दुःखद नहुँदा रहेछन् । यो पल पल घटित समयले सिकाउँदै गईनै रहेको छ । सहयात्रामा सगै हर नतिजाको हिस्सेदार बन्ने, समुहिकतामा आफूलाई खुशी भेट्टाउने स्वयं आफूभित्रको एउटा अमिट उत्कट चाहना हो । आफूले सोचेको ओरपर मात्र आफूलाई पुर्याउन खोज्ने प्रयासहरुमा अविरल लागिरहन खोज्ने प्रवृत्तिहरु माझ आफूलाई पुर्याउनु छ । एउटा उर्जाशील जीवनको पाटो मोडहरुको अनेकन घुम्तीबाट गुज्रनु नै उसको परीक्षण काल रहेछ । यसलाई अर्थको हिसावले निकै महत्वका साथ लिएको छु । विशेष हरेक कुरा नहुन सक्छ, हेराई वा दृष्टिकोण समान हुन जरुरी छैन । विविधता र प्राथमिकताको समदुरीमा पायक कुनै रोजाई नै सादर रोजाई हो । 

निर्णयहरु अन्तिम तर नतिजाहररु क्रमिक हुन्छ्न् । निर्णय र नतिजा वीच एउटा ठूलो भोगाई हुन्छ । यही भोगाई खास सम्पती हो हामी सबैको लागि । निर्णयबाट पछि हट्ने वा संभावित नतिजाको पूर्वसंज्ञामा नै उद्देलित हुनु सिकाइ हुँदै होइन । आफैं संगको भरोसा र आफू माथिको सुन्दर निकटता नै अहम् हो । मुख्य त मनस्थिती रहेछ: बाँकी पक्ष किनाराकृत हुँदै गौण हुदै जानेछन् नै । हर विषय, वस्तु वा पदार्थको आफ्नो छुट्टै प्रधानता विना उसको असलियत हुँदैन, प्रधानता विना त्यहाँ आकर्षण सम्भव छैन। मूल पक्ष आफ्नो प्रधानता हो । बाँकी अवयव प्रधानताकाे गुरुत्व कति अभिव्यक्त हुन सक्यो त्यतिनै असर गर्ने हो । अन्तिम सत्य: केही छैन तर सबै थोक छ । 

Comments